आजको मौसम पूर्वानुमान : कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ, २३ भदौ – हाल मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर रहेकाले आज देशका विभिन्न भू–भागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
पहाडी भू–भागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ ।यसैगरी दिउँसो र राति दुबै समयमा कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ ।
त्यहाँका केही स्थानमा मध्यम वर्षा र कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव र नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

