आजको मौसम पूर्वानुमानः कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २२ भदौ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिमतर्फ सरदरभन्दा दक्षिणतिर अवस्थित छ भने सिक्किम आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा परेको छ ।
आज दिउँसो देशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ । पहाडी क्षेत्रमा धेरै स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थान र बाँकी पहाड तथा तराई क्षेत्रमा छिटफुट वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहने, ठूला तथा साना नदीनालाको पानीको सतह बढ्ने र यातायातमा समस्या पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

