भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा मेला शुरु
काठमाडौँ, २२ भदौ – भाद्र शुक्ल पूर्णिमाको अवसरमा आज राजधानीको पश्चिमोत्तर चन्द्रागिरि नगरपालिका–१ स्थित धार्मिक तथा सांस्कृतिक महत्त्वको स्थल इन्द्रदहमा मेला लागेको छ । परम्पराअनुसार भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा पर्वपछि भक्तजन इन्द्रदहमा जाग्राम बस्न पुग्ने गर्छन् ।
शनिबार राति भक्तजनले दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्र मन्दिर परिसरमा बत्ती बालेर रातभर जाग्राम बसेका थिए । आज बिहानै तीर्थालुहरूले इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी–देवताको पूजा आराधना सुरु गरेका छन् ।
चन्द्रागिरि नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्दछ । धार्मिक विश्वासअनुसार दिवङ्गत आफन्तका नाममा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गर्ने र पूजाआराधना गर्ने परम्परा पूर्ण गरे आत्माको शान्ति प्राप्त हुने र दिवङ्गत आत्मा स्वर्ग जाने विश्वास गरिन्छ ।

