इन्द्रजात्राको साइत सार्वजनिक, १७ दिनसम्म विभिन्न गतिविधि

काठमाडौँ, ९ भदौ

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। धर्मशास्त्र, ज्योतिष र संस्कृतिविद्हरूसँगको परामर्शपछि तय गरिएको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिनुभयो।

समितिका पदाधिकारी गत असार २३ गतेदेखि नहुँदा यस वर्षको साइत मन्त्रालयमार्फत पठाइएको हो। समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार आज भाद्र शुक्ल द्वितीयादेखि इन्द्रजात्रा प्रारम्भ भएको छ।

  • भदौ ९ गते बिहान ९ः४६ मा वनयात्रा सुरु भइसकेको छ।

  • आज राति ९ः०३ बजे इन्द्रध्वजोत्थानका लागि लिङ्गो काट्ने साइत छ।

काटिएको लिङ्गो भदौ १५ गते आइतबार भोटाहिटीमार्ग हुँदै नगर प्रवेश गराइनेछ।

त्यसपछि—

  • भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थान हुने छ। यो परम्पराअनुसार हरेक वर्ष भाद्र शुक्ल द्वादशीमा सम्पन्न गरिन्छ।

  • भदौ २० गते (चतुर्दशी) मा कुमारी इन्द्रयात्रा हुनेछ, जहाँ राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतले अवलोकन गर्ने परम्परा छ। सो दिन तल्लो टोल यात्रा हुनेछ भने भदौ २२ गते आइतबार माथिल्लो टोल यात्रा गराइनेछ। यी यात्राका लागि छुट्टै साइत आवश्यक पर्दैन।

  • भदौ २६ गते बिहीबार नानिचा यात्रा हुनेछ। सोही राति १०ः३२ बजे इन्द्रध्वज पातन (लिङ्गो ढाल्ने साइत) तय गरिएको छ।

इन्द्रध्वज पातन आश्विन कृष्ण चतुर्थीमा गर्ने परम्परा छ। यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीको हातबाट टीका–प्रसाद ग्रहण गर्ने कार्यक्रम छ। यसरी भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको इन्द्रजात्रा १७ दिनसम्म विविध परम्परागत संस्कार र उत्सवसहित मनाइनेछ।

Facebook Comments Box