सुटकेस भित्र एक महिलाको शव फेला

रौतहट, ८ भदौ

गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेस भित्र एक महिलाको शव फेला परेको छ। शनिबार राति सडक किनारमा डोरीले बाँधिएको बेवारिसे सुटकेस भेटिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका टोलीले आज बिहान खोल्दा करिब ३० वर्षकी महिलाको शव भेटिएको डीएसपी राजन कार्कीले जानकारी दिनुभयो।

शव सुटकेस भित्र कोचेर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। महिलाको पहिचान अहिलेसम्म खुलेको छैन। मुचुल्कापछि शव प्रादेशिक अस्पताल गौरमा पठाइएको छ। प्रहरीले घटनास्थल नजिकैको विद्यालयका सीसीटीभी फुटेज जाँच गर्दै अनुसन्धान जारी राखेको छ।

यो साता मात्रै रौतहटमा तीन शव फेला परिसकेको छ। यसअघि नेपाल लजमा मृत अवस्थामा सप्तरीका उपेन्द्र भगत भेटिएका थिए भने गौर–५ मा छुरा प्रहारबाट सहाबुदिन मिया मारिएका थिए। आजको घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box