काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा
बागमती, ७ भदौ
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ । गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी–बालुवासहितको भलपानी खस्दा सो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
यता हेटौँडा–काठमाडौँ जोड्ने अर्को विकल्प कान्तिलोकपथ भने अझै अवरुद्ध छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा वर्षासँगै माथिबाट खसेको ढुङ्गा र माटोका कारण सडक बन्द भएको हो । पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने अर्यालले बताउनुभयो ।
Facebook Comments Box

