पत्रकार महासंघद्वारा कोसीमा भएको प्रहरी हस्तक्षेपप्रति भर्त्सना

काठमाडौँ, ६ भदौ

नेपाल पत्रकार महासंघले कोसी प्रदेश समितिले प्रदेशसभा भवन अगाडि गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोप्रति तीव्र आपत्ति जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा शुक्रबार जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रावधानसहित ल्याइएको आमसञ्चार विधेयकविरुद्ध पत्रकारहरूले गरेका शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप हुनु खेदजनक रहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “विधेयक सच्याएर ल्याउनुको साटो पत्रकारको आन्दोलन दबाउने सरकारी रबैया निन्दनीय छ। यसबाट शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक हक हनन भएको छ।”

महासंघले प्रदर्शनमा हस्तक्षेप गर्नेहरूमाथि कारबाही गर्न र पत्रकारको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। साथै, अन्यथा कोसी प्रदेश समितिले घोषणा गर्ने थप संघर्षका कार्यक्रमलाई देशव्यापी बनाउन बाध्य हुने चेतावनीसमेत दिएको छ।

Facebook Comments Box