कोदो खेतीमा किसानको चासो घट्दै

भोजपुर, १७ साउन – भोजपुर जिल्लामा परम्परागत रूपमा खेती गरिँदै आएको कोदो बालीप्रति किसानको आकर्षण घट्दै गएको छ। बहुउपयोगी अन्नका रूपमा चिनिने कोदोबाट अब व्यावसायिक आम्दानी हुन नसक्ने देखिएपछि अधिकांश किसानले वैकल्पिक बालीतर्फ ध्यान दिन थालेका छन्। नेपालमा कोदो चौथो मुख्य खाद्य बालीका रूपमा मानिन्छ।

तर भोजपुरका धेरै क्षेत्रमा अहिले कोदो खेती सिमित रूपमा मात्र, त्यो पनि घरायसी प्रयोजनका लागि गरिएको पाइन्छ। टेम्केमैयुङ गाउँपालिका–६ का किसान राजेन्द्र राईका अनुसार कोदो खेतीबाट जिविकोपार्जन गर्न नसकिने भएकाले गाउँमा अहिले यसको खेती घटेको छ। “गाउँघरमा अब व्यावसायिक रूपमा कोदो खेती गर्ने चलन छैन,” उहाँले भन्नुभयो, “आम्दानी कम र मेहनत बढी पर्ने भएकाले किसानहरू कोदो छाड्दै गएका छन्।”

त्यसैगरी, टेम्केमैयुङ–७ का किसान धनबहादुर प्रधानका अनुसार, अघिल्लो दशकसम्म धेरै किसानले कोदो खेती गर्थे। तर पछिल्ला वर्षहरूमा उत्पादन घट्नुका साथै बजार मूल्य स्थिर हुँदा यसप्रति किसानको चासो हराउँदै गएको छ। “डिँडो वा रोटी बनाएर खाने चलन घटेको छ,” प्रधानले भन्नुभयो, “अब कोदो मुख्यतः जाँड, रक्सी बनाउन प्रयोग हुने गरेको छ।”

स्थानीय बजारमा कोदो प्रतिपाथी रु १५० देखि १६० सम्म बिक्री हुने गरे पनि यसले उल्लेखनीय आम्दानी नदिने किसानको गुनासो छ। दसैँ, तिहार, उधौली, उभौलीजस्ता किराँत समुदायका पर्वमा मात्र यसको माग अलिक बढ्ने उनीहरूको भनाइ छ। वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार, कोदोको सट्टा मकै, तरकारी र नगदे बाली लगाउने चलन बढेको छ।

“दश–बाह्र वर्षअघि सम्म प्रशस्त कोदो फल्थ्यो,” उहाँले भन्नुभयो, “तर अहिले धेरै किसानले वैकल्पिक बाली रोज्न थालेका छन्।” कोदोबाट डिँडो, रोटी, सातु, लिटो र खोले जस्ता परिकार बन्ने र यसको खोले चिसो लाग्दा औषधिजस्तै लाभदायक मानिने किसानहरू बताउँछन्।  कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब ६ हजार हेक्टर जमिन कोदो खेतीका लागि उपयुक्त रहेको भए पनि पछिल्लो समय खेतीको क्षेत्रफल घट्दो क्रममा छ।

Facebook Comments Box