अकबरे खुर्सानीमा रोगको उच्च जोखिम, किसान चिन्तित

भोजपुर, ७ भदौ

भोजपुरमा अकबरे खुर्सानीमा विभिन्न रोग देखिएपछि किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, डाँठ कुहिने, पात पहेँलो हुने, फल झर्ने र बोटमै सुक्ने जस्ता समस्या बढेपछि कृषकको श्रम र लगानी जोखिममा परेको छ । रोग फैलिँदै गएपछि धेरै किसान खुर्सानी उखेलेर बारीमा अन्य बाली लगाउन बाध्य भएका छन् ।

करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट भएपछि अन्य बाली लगाएको भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले जानकारी दिए । “एउटै बोटमा एकैसाथ धेरै खालका रोग देखिएपछि चिन्ता बढेको छ,” उनले भने, “फल लागेको खुर्सानी डाँठ कुहिएर मरेपछि सिंगो बगान सखाप भयो ।”

व्यावसायिक रूपमा खेती गर्ने अन्य किसान पनि यस्तै समस्यामा परेका छन् । स्थानीय कृषक गीता विष्टका अनुसार बारीमा रहेका प्रायः सबै बोटमा रोग देखिएको छ । “बजार लैजाने अवस्थामा रहेका फलमै डढुवा लागेर बिग्रिए,” उनले भनिन्, “फल डढुवा लाग्ने रोगकै कारण सबैभन्दा बढी क्षति भएको छ ।”

किसानले रोगग्रस्त बोट उखालेर नष्ट गर्न थालेका छन् । उनीहरूको अनुभवमा एउटा बोटमा रोग देखिएपछि केही दिनमै अन्य बोटमा फैलिने गरेको छ । करिब १,५०० बोट खुर्सानी लगाएकोमा आधाभन्दा बढी नष्ट भएको विष्टले बताइन् ।हाल जिल्लामा व्यावसायिक रूपमा खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । तर, रोग–किराको बढ्दो जोखिमका कारण यस वर्ष उत्पादन घट्ने सम्भावना किसानले व्यक्त गरेका छन् ।

Facebook Comments Box