हुम्लामा १७ वर्षीया बालिकाले मृत जुम्ल्याहा शिशु जन्माइन्
हुम्ला, ६ भदौ
हुम्लाको चङ्खेली गाउँपालिका–६, मेल्छामकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएकी छन्। मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाका अनुसार सीतालाई सुत्केरी गराउनका लागि लामो प्रयास गरिएको थियो।
तर उपकरणको अभावका कारण मेल्छाम स्वास्थ्यचौकीमा सुत्केरी गराउन नसकिएपछि उनलाई जिल्ला अस्पतालसँग समन्वय गरी गाउँपालिका केन्द्र पिप्लाङ स्वास्थ्यचौकीमा लगिएको थियो।
पिप्लाङमा पनि सफल नभए हेलिकोप्टरमार्फत सुर्खेत वा सडकमार्ग हुँदै जिल्ला अस्पताल लैजाने तयारी हुँदै थियो। तर अन्ततः पिप्लाङ स्वास्थ्यचौकीमै स्वास्थ्यकर्मीले सुत्केरी गराए पनि जुम्ल्याहा शिशु मृतावस्थामै जन्मिएका थिए।
कक्षा १० मा अध्ययनरत सीता बुढा हाल माइतीघर मेल्छाममै बस्दै आएकी थिइन्। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको संयोजक बुढाले जानकारी दिनुभयो।
हुम्लासहित कर्णालीका दुर्गम बस्तीका महिलाले स्वास्थ्य सेवा र पूर्वाधारको अभावका कारण गर्भावस्था तथा सुत्केरी व्यथामा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको चिकित्सकहरू बताउँछन्। सानै उमेरमा हुने विवाह र गर्भधारणका कारण पनि जोखिम अझै बढिरहेको उनीहरूको भनाइ छ।

