रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमै भत्ता
भोजपुर, ६ भदौ
रामप्रसादराई गाउँपालिकाले वृद्धवृद्धा तथा असक्त नागरिकलाई सहजताका लागि वडास्तरमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। पहिले भत्ता लिन गाउँपालिका केन्द्रस्थित बैंकसम्म पुग्नुपर्दा समस्या हुने गरेकोमा अब घुम्ती शिविरमार्फत वडामै सेवा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए। शिविरमार्फत भत्ता वितरणसँगै राष्ट्रिय परिचयपत्र नवीकरण र स्वास्थ्य परीक्षण सेवा पनि सञ्चालन भइरहेको छ।
“भौगोलिक विकटता भएकाले सेवाका लागि गाउँपालिकासम्म आउन कठिन हुन्छ,” अध्यक्ष राईले भने, “त्यसैले नागरिकलाई घरदैलोमै सुविधा दिन घुम्ती शिविर सञ्चालन गरिएको हो।” साउनमै वितरण हुनुपर्ने भए पनि गाउँपालिकामा रहेको बैंक शाखाले जनशक्ति व्यवस्थापनमा ढिलाइ गर्दा वितरणमा केही ढिलो भएको बताइएको छ।
वडामै भत्ता पाउँदा वृद्धवृद्धा खुसी भएका छन्। भुल्केका होमबहादुर विश्वकर्माले भने, “पहिले गाउँपालिका जान धेरै सास्ती हुन्थ्यो, अहिले घरछेउमै पाएपछि सजिलो भएको छ।” त्यस्तै, डम्बरकुमारी खत्रीले जनप्रतिनिधि आफैं वडामा उपस्थित भएर स्वास्थ्य शिविरसहित भत्ता वितरण गरेकोप्रति खुसी व्यक्त गरिन्।
गाउँपालिकाका आठ वडामध्ये हालसम्म वडा नं १ ओख्रेमा १४१ जनालाई भत्ता, वडा नं २ धोद्लेखानीमा ७२ जनालाई भत्ता, र वडा नं ३ भुल्केमा १३१ जनालाई भत्ता वितरण गरिएको छ। साथै, यी शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउने र नवीकरण गर्ने काम पनि भइरहेको छ। बाँकी वडामा क्रमशः वितरण गर्दै भदौ ११ गते वडा नं ८ खोक्सिकमा शिविर सम्पन्न हुने गाउँपालिकाले जनाएको छ।

