बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ अझै अज्ञात
बैतडी, ६ भदौ
भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पछिल्ला वर्षहरूमा महिला र बालबालिका हराउने घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात छ।आर्थिक वर्ष २०७९/८० मा १०५ जना हराएकामध्ये ९१ जना फेला परेका थिए भने १४ जनाको अवस्था अज्ञात रह्यो।
आव २०८०/८१ मा ११५ हराएकामध्ये ११३ जना भेटिए। तर, आव २०८१/८२ मा १२२ जना हराएकामध्ये ८६ जना मात्रै फेला परेका छन्। गत वर्ष बेपत्ता हुनेमध्ये ५५ महिला, २७ बालक, २९ बालिका र एक ज्येष्ठ नागरिक रहेका थिए। तीमध्ये ८६ जनाको मात्र उद्धार वा फेला पारिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयका अनुसार, हराएकामध्ये केही आफैं फेला परे पनि प्रहरीलाई जानकारी नदिने प्रचलनले तथ्यांक बढेको देखिन्छ। साथै, बैतडी भारतसँग खुला सीमा भएको कारण धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेको पनि देखिएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग र सानै उमेरमा कामको खोजीमा भारत जाने प्रयासलाई पनि बेपत्ता हुने प्रमुख कारण बताएको छ। प्रहरीले सीमाक्षेत्रबाट ललाइफकाइमा परेका बालबालिका उद्धार गर्ने गरेको र गत आवमा ५ महिला, २ बालक र ३ बालिका उद्धार गरी आफन्तको जिम्मा लगाइएको जनाएको छ।

