सबै पक्षले पेरिस सम्झौताका प्रतिबद्धता पूरा गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ, २ भदौ

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस सम्झौतामा गरिएका सबै प्रतिबद्धता अनिवार्य रूपमा पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा पहिलोपटक आयोजित हिन्दुकुश–हिमालय क्षेत्रका सांसदहरूको सम्मेलन उद्घाटन गर्दै उहाँले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न पेरिस सम्झौताको कार्यान्वयन अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले हिन्दुकुश–हिमालय क्षेत्र विश्व औसतभन्दा तीव्र गतिमा तातिरहेको र यसले हिमनदी पग्लिनु, बाढी, भूस्खलनजस्ता जलवायुजन्य विपद् बढाएको बताए ।

“जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायुप्रदूषण अब वैज्ञानिक प्रतिवेदनमा सीमित छैनन्, यी हाम्रो जीवनको कठोर वास्तविकता हुन्,” उहाँले भन्नुभयो ।

उहाँले यस क्षेत्रको पानी, अक्सिजन र उर्वर भूमिले दुई अर्बभन्दा बढी जनताको जीवन धानेको भए पनि अहिले यो जीवनाधार संकटमा परेको बताउनुभयो ।

जैविक विविधताको ह्रासले खाद्य सुरक्षा, सांस्कृतिक सम्पदा र अर्थतन्त्रमा नकारात्मक असर गरिरहेको उल्लेख गर्दै उहाँले सहकार्य र साझा प्रतिबद्धताको आवश्यकता औल्याउनुभयो ।

राष्ट्रपतिले नेपालले जलविद्युत्, सौर्य ऊर्जा प्रवद्र्धन, सामुदायिक वन संरक्षण, पूर्वसूचना प्रणाली, विद्युतीय सवारी प्रवद्र्धनलगायत महत्वपूर्ण पहल अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले वैज्ञानिक तथ्य र जनआवाजलाई आधार मानेर जलवायु–मैत्री नीति तथा कानुनी संरचना सुदृढ बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।सम्मेलनमा हिन्दुकुश–हिमालय क्षेत्रका विभिन्न मुलुकका सांसद, सरकारी प्रतिनिधि र विज्ञहरूको सहभागिता छ ।

Facebook Comments Box