नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
नवलपरासी, २ भदौ
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जापानिज इन्सेफ्लाइटिसका कारण एक जनाको मृत्यु भएको छ ।मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा जिल्लामा चार जनामा रोग पुष्टि भएकोमा एक जनाको मृत्यु भएको र बाँकी तीन जना उपचारपछि घर फर्किएको उहाँले बताउनुभयो ।
साउन महिनामै चार जनामा सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जना कावासोती नगरपालिकाका रहेका छन्— वडा नं १ की ४४ वर्षीया महिला, वडा नं ३ की ८३ वर्षीया महिला र वडा नं ६ का ५२ वर्षीय पुरुष ।
संक्रमितको परिवारलाई निगरानीमा राखिएको र पाँच जनाको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।
जिल्लामा पछिल्ला वर्षहरूमा यो रोग बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा सात जनामा सङ्क्रमण देखिएकोमा पाँच जनाको मृत्यु भएको थियो । आव २०८०/८१ मा आठ जनामा सङ्क्रमण भई एक जनाको मृत्यु भएको थियो भने गत वर्ष (२०८१/८२) दुई जनामा रोग देखिए पनि दुवै निको भएका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शैलेन्द्रकुमार सिंहका अनुसार जापानिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिका लामखुट्टेबाट सर्ने रोग हो । धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हुने भएकाले साउन, भदौ र असोज महिनामा रोग बढी देखिने गरेको बताइन्छ ।
“यो रोग लाग्दा सामान्यतया ज्वरो, बान्ता, टाउको दुखाइ, थकान, घाँटी दुख्ने र दरो हुने, कमजोरीजस्ता लक्षण देखिन्छन्,” सिंहले भन्नुभयो, “गम्भीर अवस्थामा छारे रोग, प्यारालाइसिस वा अचेत हुने अवस्था आउँछ, जसले मृत्यु पनि गराउन सक्छ ।”
विश्व स्वास्थ्य तथ्याङ्कअनुसार हरेक वर्ष विश्वभर ५० हजारभन्दा बढीमा जापानिज इन्सेफ्लाइटिस पुष्टि हुने गरेको र तीमध्ये १० देखि १५ हजारको ज्यान जाने गरेको पाइन्छ ।

