आज कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १ भदौ
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिनु क्रम जारी छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेससहित कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभाग, गण्डकी र अन्य प्रदेशका पहाडी भागका केही स्थान र बाँकी तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । यसैबीच, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भागमा साधारणतया बदली रहनेछ भने अन्य भागमा आंशिक बदली हुने जनाइएको छ । मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभाग र अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई तथा पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

