वैशाखयता विपद्का २,८५३ घटना, १२६ जनाको मृत्यु

काठमाडौँ, १ भदौ

चालु आर्थिक वर्षको सुरुवात वैशाखदेखि साउन ३१ गतेसम्म देशभर २,८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर १२६ जनाले ज्यान गुमाएका छन् भने ५८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा २३ जना बेपत्ता भएका छन् । सो अवधिमा ५,०४१ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

विपद्का घटनामध्ये बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७, आगलागीका १,११४, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टिएको २, असिना, हुरी र अन्यका एक–एक घटना रहेका छन् ।

साउन ३१ गते मात्र देशभर सातवटा आगलागी, एक बाढी, आठ पहिरो, चार अविरल वर्षा र तीनवटा जनावर आक्रमणका घटना घटेका प्राधिकरणले जनाएको छ । ती घटनामा एक जनाको मृत्यु भएको छ । सो दिन मात्र अनुमानित रु ३८ लाख ४० हजार बराबरको क्षति भएको उल्लेख छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि १४० जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

Facebook Comments Box