भोजपुरमा गङ्गा खोला संरक्षणका लागि श्रमदान अभियान सुरु
भोजपुर, २६ साउन
रामप्रसादराई गाउँपालिका–६ बैकुण्ठेका स्थानीयवासीले धार्मिक तथा पर्यटकीय महत्वको गङ्गा खोलाको संरक्षणका लागि श्रमदान अभियान थालेका छन्। वडा कार्यालयको पहलमा सञ्चालन भएको ‘गङ्गा खोला संरक्षण श्रमदान’ अन्तर्गत खोलाको वरपर वृक्षरोपण, फूल रोप्ने, बाटो मर्मत, झाडी हटाउने र मुहानको सरसफाइजस्ता काम भइरहेको वडाध्यक्ष एकराज आचार्यले बताए।
उनका अनुसार गङ्गा खोलाको मुहान कहिल्यै नसुक्ने, वर्षातमा धमिलो नहुने र दक्षिणबाट उत्तरतर्फ बग्ने विशेषताले यसको अलग महत्व छ। सीमित बजेटका बीच वडाले संरक्षणका लागि केही रकम विनियोजन गर्दै श्रमदानलाई निरन्तरता दिएको आचार्यले बताए।
गोल्मे–गङ्गा पर्यटन प्रवद्र्धन समितिको संयोजनमा गत वर्षदेखि हरेक शनिबार श्रमदान हुँदै आएको छ। समितिका अध्यक्ष राजेन्द्रकुमार राईका अनुसार ढुङ्गाको कापबाट उम्रिएका तीन ठूला पानीका मुहान भएको यो स्थलमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।
यद्यपि अनौठो प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेको गङ्गा खोला प्रचारको अभावमा ओझेलमा परेको राईको भनाइ छ। यहाँको पानीले नुहाएमा छालाको रोग निको हुने र पुण्यकर्ममा चढाउने चलन छ। माघे सङ्क्रान्तिमा यहाँ भव्य मेला लाग्ने परम्परा पनि रहेको छ।

