झुला पर्व सम्पन्न

महोत्तरी, २५ साउन

साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मिथिला क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक पर्व झुला पर्व सम्पन्न भएको छ । यो पर्व भगवान् विष्णु र भगवती लक्ष्मीको आराधनामा मिथिलाका मठमन्दिरहरूमा सामूहिक रूपमा मनाइन्छ । राम–सीता र कृष्ण–राधा जस्ता विष्णु लक्ष्मीका अवतारका प्रतिमालाई कलात्मक झुला (कोक्रा) मा राखेर गीत गाउदै डोरी समातेका श्रद्धालुले झुलाउने चलन छ ।

साउन पूर्णिमाको मध्यरात कटेपछि झुलाको डोरी छिनाएर १३ दिने पर्व सम्पन्न गरिन्छ — मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्रदास वैष्णवले जानकारी दिनुभयो । जनकपुरधामस्थित जानकी मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मठ झुलाघरका झुला उत्सव प्रसिद्ध छन् । विष्णु लक्ष्मीका प्रतिमाहरू एकै ठाउँमा जम्मा गरी झुला, मल्हार र कजरी गीतका लयमा नाचगान गर्दै पर्व मनाउने परम्परा छ ।

यो उत्सव मिथिलाको सांस्कृतिक धरोहर हो र यसको शुरुवात विसं १७८७ मा सन्त सुरकिशोर दासले गर्नुभएको विश्वास गरिन्छ, जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो । साउनको यो समय मिथिलामा खेतीपाती र मुख्य बाली धान रोप्ने समय भएकाले किसानहरू पानी निरन्तर पर्ने कामना गर्छन् । हरियो धानको रोपनीले माहोल रमणीय बन्दै जाने यो बेला मैथिलहरू आफ्ना इष्टदेव–देवीसँग खेल्ने झुला पर्व मनाएर रमाइलो गर्छन् ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल वृन्दावनबाट आएको विश्वास छ । जनकपुरधाम सीताको माइती भएकाले यहाँ साउन शुक्लपक्षका १३ दिन श्रीरामलाई झुलाउने परम्परा चलिआएको छ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्णले बताउनुभयो ।

जनकपुरमा राम–सीताको विवाहका बेला राजा जनकले दाइजोमा दिएको मणिमाणक्यको थुप्रो “मणिपर्वत” नामले चिनिन्छ र सो स्थान जानकी मन्दिरबाट करिब पाँच किलोमिटर टाढा अवस्थित छ । झुला पर्वको आरम्भ मणिपर्वतको पूजाबाट हुने परम्परा छ । मटिहानी र जनकपुरका झुलाघरमा विष्णु–लक्ष्मीका प्रतिमाहरू डोलीमा बोकेर झुला लगाइन्छ ।

मटिहानीमा नेपाल–भारतका दर्जनौँ मठमन्दिरबाट झुलाका लागि प्रतिमा ल्याइन्छन् र पर्वभरि साधुसन्तहरू समेत केन्द्रमा जम्मा भएर धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुन्छन् । मिथिला लोकपरम्पराका जानकार अवकाशप्राप्त साहित्यकर्मी ध्रुव रायका अनुसार झुला पर्व मिथिलाको प्रमुख सांस्कृतिक पर्व हो र परम्परागत रूपमा अहिले पनि उत्साहका साथ मनाइँदै आएको छ ।

Facebook Comments Box