अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

अर्घाखाँची, ३० वैशाख – पाणिनी गाउँपालिका–८ को कुरुलेफाँट क्षेत्रमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन्। सन्धिखर्क–घुम्ती–तानसेन सडकखण्ड अन्तर्गत दुर्गाफाँट कुरुले क्षेत्रमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दिवसबहादुर जिसी का अनुसार दुर्घटनामा मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ७८ वर्षीया राममाया बस्नेत, सोही स्थानकी ७८ वर्षीया बिन्दु कुँवर, मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी तथा बस चालक ४५ वर्षीय रमेश जिसी रहेका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको लुम्बिनी मेडिकल कलेज तथा भैरहवा मेडिकल कलेज मा उपचार भइरहेको छ। अर्घाखाँची अस्पताल मा रहेका केही घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेका अधिकांश यात्रु पर्वत जिल्लाको मोदी गाउँपालिकाका रहेका छन्।

सुपा देउराली मन्दिर दर्शन गरेर फर्किंदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको र बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box