बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र सी चिनफिङबीच, आज शिखर वार्ता

काठमाडौँ, ३१ वैशाख – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङमा बहुप्रतीक्षित शिखर वार्ता हुँदै छ । विश्वका दुई ठूला अर्थतन्त्रका नेताबीच हुन लागेको भेटलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

नौ वर्षपछि तीनदिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुग्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भ्रमणअघि ट्रम्पले बेइजिङसँग व्यापार, प्रविधि र भूराजनीतिक सम्बन्धलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनलाई अमेरिकी व्यवसाय र प्रविधि कम्पनीका लागि थप खुला बनाउनुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो । उहाँले राष्ट्रपति सीलाई “असाधारण दृष्टिका नेता” भन्दै अमेरिकी प्रतिभा र प्रविधिले चीनको विकासमा थप योगदान दिन सक्ने उल्लेख गर्नुभएको छ ।

यस भ्रमणलाई ट्रम्प प्रशासनले कूटनीतिक भेटमात्र नभई आर्थिक तथा रणनीतिक सम्बन्ध पुनः सन्तुलन गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ । यही कारण व्यापार र प्रविधि क्षेत्रका केही प्रमुख अमेरिकी व्यवसायी पनि भ्रमण टोलीमा सहभागी भएका छन् । बेइजिङले वासिङ्टनसँग सम्बन्ध सुधारसँगै पश्चिम एसियामा बढ्दो तनाव अन्त्य गर्नुपर्ने धारणा अघि सारेको छ ।

चीनले अमेरिका–इरान द्वन्द्व समाधानका लागि संवादमार्फत समाधान खोज्नुपर्ने बताउँदै पाकिस्तानलाई मध्यस्थता प्रयास बढाउन आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । सन् २०१७ पछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो । भ्रमणका क्रममा बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा राजकीय भोज, चियापान तथा उच्चस्तरीय समारोह आयोजना गरिने कार्यक्रम छ ।

दुई नेताबीच हुने वार्तामा दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, कृत्रिम बौद्धिकता क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन तथा प्रविधि सुरक्षासम्बन्धी विषय मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ । साथै गत वर्ष सुरु भएको व्यापार युद्धविरामलाई थप एक वर्ष लम्ब्याउने विषयमा पनि छलफल हुने बताइएको छ ।

यसैबीच, इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको लागत तीव्र रूपमा बढ्दै गएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भएको जनाएको भए पनि विज्ञहरूले वास्तविक खर्च अझ बढी भइसकेको बताएका छन् ।

हार्वर्ड केनेडी स्कुलले सार्वजनिक गरेको एक अनुसन्धानअनुसार दीर्घकालीन सैनिक खर्च, पूर्वसैनिकको स्वास्थ्य सेवा, सैन्य संरचना पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनसमेत जोड्दा युद्धको कुल लागत १० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । युद्ध बजेट विशेषज्ञ लिन्डा बिल्मेसले हाल सार्वजनिक गरिएको खर्च वास्तविक लागतको सानो अंश मात्र भएको र आगामी वर्षमा आर्थिक भार अझ बढ्ने बताउनुभएको छ ।

Facebook Comments Box