ख्याकुवामा खानेपानीको पहुँच विस्तार
काभ्रेपलाञ्चोक, २५ साउन
पनौती नगरपालिका–११ स्थित ख्याकुमा ख्याकु–देवीखोला खानेपानी आयोजनाको निर्माण सम्पन्न गरी एक सय ७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ । सो आयोजनालाई ‘सफा र स्वच्छ’ समुदाय घोषणा गर्दै खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । ख्याकु, बेँसीगाउँ, महन्तटोल, महतटोल र घैँडाँडा क्षेत्रका बस्तीहरूका विद्यालय, मन्दिर र १७५ घरमा खानेपानीको धारा जडान गरिएको छ ।
यसबाट सो क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा प्रत्यक्ष लाभान्वित भएको छ । कुल लागत करिब रु ८३ लाख ४८ हजार रहेको यस आयोजनामा नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा)बाट रु ४२ लाख ४१ हजार ७००, पनौती नगरपालिकाबाट रु १६ लाख ९१ हजार ४०० र उपभोक्ताहरूको श्रमदानबाट रु २४ लाख १४ हजार ८०० खर्च भएको छ, आयोजना अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो ।
यसअघि गत हप्ता पनौती नगरपालिका–११ कै बल्थलीमा २०८१ असोजको बाढीपहिराले क्षतिग्रस्त नेपाने–फ्याङखोला खानेपानी आयोजना पुनर्निर्माण गरी एक सय ९५ परिवारलाई पुनः खानेपानी सेवा उपलब्ध गराइएको थियो ।
बल्थलीका नेपानेका १२३ र डाँडागाउँका ७२ घर परिवारलाई ‘एक घर–एक धारा’ कार्यक्रमअन्तर्गत पुनः सेवा दिइएको हो । विसं २०४७ मा बनेको उक्त आयोजना २०७२ को विनाशकारी भूकम्प र गत असोजको बाढीपहिराले क्षति पुगेपछि दातृसंस्था र आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको थियो ।

