आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, ३० वैशाख – नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेससहित अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान पनि गरिएको छ । यस्तै, तराईका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ । सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना र चट्याङ्गको जोखिम समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली कायम रहनेछ । ती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments Box