प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, २४ साउन

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका मन्त्रीहरूले उहाँलाई स्वागत गर्नुभयो।

सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, सुरक्षा निकायका प्रमुख तथा अन्य उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। नेपाली सेनाले प्रधानमन्त्रीको सम्मानमा सम्मान गारद अर्पण गरेको थियो। प्रधानमन्त्री ओली २०–२३ साउन (५–८ अगस्ट) का लागि तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा आयोजित सम्मेलनमा सहभागी हुन,

राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा सम्बोधन गर्नुका साथै उहाँले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुभएको थियो।

यसबाहेक अन्य विभिन्न कार्यक्रममा पनि उहाँले धारणा व्यक्त गर्नुभयो। सम्मेलनमा एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, पारवहनका चुनौती, अपर्याप्त पूर्वाधार, लामो दूरीका कारण बढ्ने लागत र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि जस्ता विषयमा विस्तृत छलफल भएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनको मूल उद्देश्य यी मुलुकहरूको व्यापारिक, यातायात तथा आर्थिक अवरोध हटाइ प्रतिस्पर्धात्मक क्षमता बढाउने रणनीति तय गर्नु हो। सम्मेलनकै क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका प्रतिनिधिमण्डलका प्रमुख, संयुक्त राष्ट्रसङ्घका अधिकारी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको थियो।

दिगो विकास लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने अपेक्षा राखिएको यो सम्मेलन, यसअघि सन् २०१४ मा अस्ट्रियाको भियनामा भएको दोस्रो सम्मेलनपछिको अर्को महत्वपूर्ण चरण मानिएको छ। प्रधानमन्त्रीको टोलीमा परराष्ट्र सचिव अमृतबहादुर राई, प्रथम महिला राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, उच्चपदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सहभागी थिए।

Facebook Comments Box