सिप हस्तान्तरण नहुँदा हराउँदै जनै बनाउने परम्परा
नवलपरासी, २४ साउन
नयाँ पुस्तामा सिप हस्तान्तरण नहुँदा हिन्दू धर्मावलम्बीले प्रयोग गर्ने जनै घरमै बनाउने परम्परा हराउँदै गएको छ। अहिले अधिकांशले बजारमा बनेको जनै किन्नुपर्ने अवस्था छ। युवापुस्ता रोजगारी र अन्य काममा व्यस्त रहँदा जनै बनाउन सिक्ने समय र चासो दुबै घटेको छ। कावासोतीका पूर्ण भुसालका अनुसार सजिलै बजारमा पाइने भएकाले आफ्नै हातले बनाउने चलन कम हुँदै गएको हो।
मध्यविन्दुका मणि सापकोटाले विगतमा गाउँमा ब्राह्मण–क्षेत्री समुदायले एक महिना अघिदेखि जनै बाट्ने गरे पनि अहिले अधिकांश युवा विदेशमा भएकाले गाउँमा यो सिप प्रायः हराइसकेको बताए। बजारमा मेसिनबाट बनेका वा विदेशबाट आयातित जनै सस्तोमा पाइए पनि पण्डित इन्द्रप्रसाद गौडेलका अनुसार आफ्नै हातले बनाएको जनै नै उत्कृष्ट हुन्छ। उनका अनुसार सस्तो जनैको गुणस्तर र धार्मिक उपयुक्तता कमजोर हुन्छ।
गौडेलले आधुनिकता र व्यस्त जीवनशैलीका कारण जनै पूर्णिमाको सांस्कृतिक महत्व नयाँ पुस्ताले बिर्सँदै गएको उल्लेख गर्दै यस परम्परा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए। जनै पूर्णिमामा जनै फेर्ने, रक्षा बन्धन बाँध्ने र सप्त ऋषिलाई तर्पण गर्ने धार्मिक विश्वास रहिआएको छ।

