आज जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्व देशभर मनाइँदै

काठमाडौँ, २४ साउन

आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा वैदिक सनातन धर्मावलम्बीहरूले जनै पूर्णिमा, रक्षाबन्धन (ऋषितर्पणी) पर्व देशभर मनाइरहेका छन्। बिहानैदेखि भक्तजनहरू नदी, ताल, पोखरी र कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको यज्ञोपवीत (जनै) र रक्षासूत्र (डोरो) धारण गर्ने परम्परा छ। धार्मिक विश्वास अनुसार यसरी धारण गरिएको रक्षासूत्रले नकारात्मक शक्तिबाट जोगाउँछ।

पौराणिक कथनअनुसार सत्ययुगमा दानवराज बलीलाई गुरु वृहस्पतिले बाँधेर देवगणको रक्षा गरेका थिए। यही प्रसंगमा आधारित भएर रक्षाबन्धनका बेला गुरु–पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल” भन्ने मन्त्रसहित रक्षासूत्र बाँध्ने परम्परा आजसम्म प्रचलित छ।

ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले यस दिन नयाँ यज्ञोपवीत धारण गर्ने विधान शास्त्रमा उल्लेख छ। चतुर्दशीका दिन कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो बस्ने चलन छ। पूर्णिमाको बिहान गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरेर पोखरी, नदी वा कुण्डमा स्नान गरिन्छ, जसलाई ‘श्रावणी स्नान’ भनिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक विधिअनुसार नयाँ जनै फेर्ने गरिन्छ। अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य आठ ऋषिलाई पूजा र तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

जनै पूर्णिमामा एघार थरी गेडागुडी मिसाएर टुसा उमारेर क्वाँटी बनाई खाने चलन छ। धार्मिक तथा आयुर्वेदिक मान्यता अनुसार क्वाँटीले शरीरलाई तातो राख्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र वर्षायामको चिसो हटाउने लाभ दिन्छ। आयुर्वेद चिकित्सकका अनुसार यसबाट रुघाखोकीजस्ता रोगबाट पनि राहत मिल्छ।

तराई क्षेत्रमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने चलन छ। यसलाई दाजुभाइ र दिदीबहिनीबीचको स्नेह सम्बन्ध मजबुत बनाउने प्रतीक मानिन्छ। हाल यो परम्परा पहाडी क्षेत्रमा पनि फैलिँदै गएको छ।

जनै पूर्णिमा र रक्षाबन्धनका अवसरमा काठमाडौँको पशुपतिनाथ, अशोकविनायक, वाग्मती किनार, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायत स्थलमा बिहानैदेखि स्नान र पूजापाठ गर्ने भक्तजनको भीड लागेको छ।

Facebook Comments Box