साउन १५ मा खीर खाएर परम्परा मनाइँदै, दुग्ध विकास बोर्डलेखीर दिवस मनाउँदै

काठमाडौँ, साउन १५ गते – आज साउन १५ गते, नेपाली समाजमा विशेष रूपमा खीर खाएर मनाइँदै छ । वैदिक परम्परा, मौसमी सन्दर्भ र सांस्कृतिक महत्व बोकेको यो दिनलाई राष्ट्रिय दुग्ध विकास बोर्डले ‘खीर दिवस’ का रूपमा पनि मनाउँदै आएको छ ।

नेपालमा वर्षा ऋतुमा असार १५ मा दही–च्यूरा र साउन १५ मा खीर खाने चलन पुरानै परम्परा हो । जानकारहरूका अनुसार, साउने झरीका बेला दूधमा मरमसलालगायत सामग्री मिसाएर पकाइएको खीर स्वास्थ्यका दृष्टिले लाभदायी मानिन्छ । संस्कृतमा ‘पायस’ भनिने खीर सात्विक आहारमध्ये उत्तम मानिन्छ, जसले देवकार्य र पितृकार्यमा पनि विशेष महत्व राख्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, “साउन महिनामा खेतीपातीको चटारो सकिएको, गाईभैँसीले दूध धेरै दिने समय भएकाले घर–परिवार र छरछिमेकीलाई बोलाएर खीर खुवाउने चलन बसेको हो । शिवजीलाई दूध तथा दूधजन्य परिकार प्रिय हुने विश्वाससहित साउनको मध्यमा खीर खाने परम्परा जोडिएको देखिन्छ ।”

वैदिक सनातन धर्ममा श्राद्धजस्ता पितृ कार्यमा पाहुनालाई पायस अर्थात् खीर खुवाउने प्रचलन ऋषिमुनिका पालादेखि कायम छ । गाईको दूधमा बनाइएको खीर श्राद्धमा अनिवार्य परिकारका रूपमा राखिन्छ । खीर परिकार विभिन्न प्रकारका चामल, सेवई, मकै, गाजर, सावधाना आदि प्रयोग गरेर बनाइन्छ । हरियो मकैको प्रशस्तता हुने साउन महिनामा मकैको खीरको प्रचलन पनि बढेको पाइन्छ ।

नेपाली समाजमा हरेक १५ गतेका चाडपर्वहरूमा मौसमी विशेष आहार खाने परम्परा रहिआएको छ । जस्तै, असार १५ मा दही–च्यूरा, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घ्यू–खट्टे, माघ १५ मा मालपुवा आदिको चलन सामाजिक एकता र पारिवारिक जमघटका दृष्टिले महत्वपूर्ण मानिन्छ ।

Facebook Comments Box