गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई गुणस्तरीय सेवा दिन निर्देशन, २६ होटललाई जरिवाना

रसुवा, २२ साउन 

जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्ड तीर्थयात्रामा सहभागी हुने श्रद्धालुहरूलाई लक्षित गर्दै रसुवा जिल्लामा धार्मिक मार्गका होटल तथा लजहरूमा सर्वसुलभ र गुणस्तरीय सेवा सुनिश्चित गर्न निर्देशन दिइएको छ।

जिल्ला अनुगमन समितिले तीर्थयात्राका क्रममा तीर्थालु ठगिने, खाना र बासमा गुणस्तर अभाव हुनेजस्ता गुनासो दोहोरिन नदिन होटल सञ्चालकहरूलाई निर्धारित दररेट र उपयुक्त सेवाको पालन गर्न निर्देशन दिएको हो।

अनुगमन टोलीले सहायक प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक ध्रुवप्रसाद अधिकारीको नेतृत्वमा स्थायी तथा अस्थायी संरचनाका होटल, लज र छात्रो (स्थानीय भाषामा थर्कु) मा स्थलगत निरीक्षण गरेको थियो।

२६ होटलमा लापरबाही, रु ३ लाख ८० हजार जरिवाना

निरीक्षणका क्रममा प्यान नम्बर लिएर पनि उद्देश्य विपरीत व्यवसाय सञ्चालन गर्ने, पाक्न नसकेको खाना खुवाउने, कोठाको सरसफाइमा लापरबाही गर्ने, मूल्य सूची नराख्ने, बिलबिजक नदिने लगायतका अनियमितता भेटिएको अनुगमन समितिले जनाएको छ।

उक्त लापरबाहीका कारण उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्दै २६ वटा होटल तथा लज सञ्चालकलाई जरिवाना तिराइएको छ। संयोजक अधिकारीका अनुसार ती होटलहरूबाट रु ३ लाख ८० हजार जरिवाना असुल गरिएको छ।

म्याद गुज्रेका सामान नष्ट, मदिरा बिक्रीमा प्रतिबन्ध

धार्मिक मार्गमा म्याद गुज्रेका सामग्री तथा मदिरा बिक्री फेला परेकाले ती वस्तु जफत गरी नष्ट गरिएको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको नेतृत्वमा कालोबजारी नियन्त्रण तथा मूल्य निगरानीका लागि सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको छ।

गुनासोका लागि मोबाइल नम्बर उपलब्ध

आगामी साउन २४ गते विशेष मेला भर्न आउने तीर्थयात्री ठगिएको वा कुनै असुविधा भएको अवस्थामा जिल्ला प्रहरी कार्यालयको मोबाइल नं. ९८५१२७५५५५ वा जिल्ला प्रशासन कार्यालय रसुवाको मोबाइल नं. ९८५१२२७७७७ मा सम्पर्क गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

स्थानीयवासीले प्रमुख जिल्ला अधिकारीको प्रयासलाई प्रशंसनीय भन्दै तीर्थालुहरूका लागि सुरक्षित, सुलभ र व्यवस्थित यात्रा वातावरण बनाउने कार्यलाई स्वागत गरेका छन्।

Facebook Comments Box