कनकाई नगरपालिकाको ‘सरहे कार्यक्रम’ : मृत्यु संस्कारमा नगद सहयोग

झापा, २२ साउन

कनकाई नगरपालिकाले नगरवासीको मृत्यु संस्कारमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइएको यो कार्यक्रम नगरवासीको पीडाको बेला साथ दिने प्रयासस्वरूप अघि सारिएको हो ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार, मृत्यु संस्कार मानिसको जीवनको सबैभन्दा पीडादायी क्षण भएकाले त्यसलाई सहज बनाउन परम्परागत ‘सरहे’ प्रथालाई संस्थागत रूपमा अगाडि बढाइएको हो । “नगरपालिका नगरवासीको अभिभावक संस्था हो,” उहाँले भन्नुभयो, “मृत्यु संस्कारमा गरिने कर्ममा सघाउन सरहे कार्यक्रम लागू गरेका हौँ ।”

नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले दुःखद घडीमा परिवारलाई समवेदना व्यक्त गर्दै नगद सहयोग उपलब्ध गराउँदा केही मात्रामा भए पनि सान्त्वना मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमअनुसार मृतकका परिवारलाई समवेदनापत्रसहित नगद रु ५,००० प्रदान गरिनेछ । नगर कार्यपालिकाको साउन ११ गते बसेको बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ स्वीकृत गरेको छ ।

त्यसैगरी बैठकले कृषि तथा पशुपंक्षी विकास, सुरक्षित आप्रवासन, कृषि अनुदानलगायतका विषयमा तयार पारिएका विभिन्न कानुनी मस्यौदाहरू सम्बन्धित समितिहरूमा छलफलका लागि पठाएको छ । ती मस्यौदाहरूमा कृषि विकास तथा प्रवद्र्धन अनुदान, पशुपालन तथा मत्स्य विकास कार्यक्रम सञ्चालन, सुरक्षित आप्रवासन आपतकालीन कोष व्यवस्थापन र जीविकोपार्जन उत्थानसम्बन्धी विधेयकहरू रहेका छन् ।

Facebook Comments Box