देशभर जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २२ साउन
हाल मुलुकमा मनसुन सक्रिय भए पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई क्षेत्रमा सक्रिय छ ।
आज कोशी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहने बताइएको छ । कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ ।
रातिको समय देशभर सामान्यतया बदली रहनेछ । मधेससहित कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी क्षेत्रमा भने राति पनि एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।

