पानी उमालेर मात्र पिउन काठमाडौँ महानगरको आग्रह
काठमाडौँ, १५ साउन – काठमाडौँ महानगरपालिकाले वर्षायाममा पानीजन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै उपभोक्तालाई पानी उमालेर मात्र पिउन आग्रह गरेको छ।
महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, पानीजन्य जोखिम न्यूनिकरण गर्न महानगरले पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ। तर, उपभोक्ताले पनि सावधानी अपनाउँदै उमालेको पानी मात्र पिउनुपर्ने उहाँको सुझाव छ।
महानगरले गत असार महिनामै १५९ थान मापदण्डविपरीतका जार नष्ट गरेको जनाएको छ। अनुगमनका क्रममा कुच्चिएका, फुटेका, वा अपारदर्शी जार प्रयोग नगर्न पनि सबै उपभोक्तालाई आग्रह गरिएको छ। महानगरले पानी बिक्री गर्ने व्यवसायीहरूलाई निम्न निर्देशनसमेत दिएको छ:
-
मापदण्ड विपरीत प्रशोधित जार नबिक्री गर्न
-
जारमा स्पष्ट विवरण भएको लेबल राख्न
-
गाडीमा कम्पनीले जारी गरेको बिलबीजक अनिवार्य रूपमा साथमा राख्न
यसका साथै, हैजा नियन्त्रणका लागि कामपाले समुदाय तहमा पुगेर पिउने पानीको नमूना परीक्षण गर्ने तयारी गरेको छ। कामपाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि बढाइएको महामारी रोग नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिनुभयो।
उहाँका अनुसार, यस वर्ष मनसुन समयमै भित्रिएकाले हैजाका बिरामी बढ्न सक्ने सम्भावना छ। विगतका वर्षमा बल्खु, कालीमाटी र टङ्केश्वर क्षेत्रहरूमा हैजाका बिरामी फेला परेका थिए।

