सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जना रामेछापमा भेटिए

सिन्धुली, १२ साउन — गोलान्जोर गाउँपालिका–६, बागेश्वरबाट बिहीबारदेखि सम्पर्कविहीन भएका एकै परिवारका १६ जनाको अन्तिम लोकेसन रामेछापमा देखिएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार शुक्रबार राति १० बजेर ९ मिनेटमा उनीहरूको मोबाइल लोकेसन रामेछापमा देखिएको थियो। “त्यसपछि मोबाइल अफ छ, सीम पनि चलेको छैन,” सुवेदीले भन्नुभयो।

बेपत्ता हुनेहरू हायु थरका हुन्। उर्मिला हायुसहित उनका ६ छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू परिवारमा समावेश छन्। उनीहरूलाई लोपउन्मुख जातिका रूपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्ता दिइँदै आएको थियो।

पछिल्लो पटक तीन महिनाको भत्ता स्वरूप १ लाख ९२ हजार रुपैयाँ लिएको स्थानीय सरकार स्रोतले जनाएको छ। स्थानीय वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हायु परिवारको घर एकान्तमा रहेको छ र अरू घरसम्म पुग्न कम्तीमा १५ मिनेट लाग्ने बताइएको छ।

गाउँलेले अनुसार उनीहरूले घरमै सुँगुर काटेर खाएको देखिएको थियो। बेपत्तापछि गरिएको खोजीका क्रममा घरको ढोका खुलै रहेको, तर भित्र कोही नदेखिएको गाउँलेहरूले जनाएका छन्।

उनीहरूले पालेको भैंसी गाउँकै अर्को घर नजिक बाँधिएको छ, जहाँ उनीहरू हरेक दिन घाँस–पानी गर्न जान्थे। बिहीबारदेखि त्यहाँ नदेखिएपछि स्थानीयले शंका गरी खोजी थालेका थिए। प्रहरीले परिवार सम्पर्कमा नआएकाले कसरी र किन रामेछाप पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box