भटौली खोलाको पक्की पुल बाढीको कटानले जोखिममा
मन्थली, ११ साउन – रामेछापको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने भटौली खोलाको पक्की पुल बाढीको कटानले गम्भीर जोखिममा परेको छ। सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति गाउँपालिकासहित काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने यो पुलको पिलरमा खोलाको बाढी सिधै ठोक्किन थालेपछि संरचनामा क्षति पुग्ने खतरा बढेको हो।
खोलाको पकरबासपट्टिको पिलरमा बाढीले कटान गरिरहेको स्थानीय खेमबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार टेवा पर्खाल वा जाली नलगाइए ठूलो क्षति हुनसक्ने छ। वर्षा सुरु भएयता बारम्बार आएको बाढीले जोखिम झनै बढाएको भन्दै स्थानीय र जनप्रतिनिधिले दुवै पालिकाको समन्वयमा चाँडो संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
पुल क्षतिग्रस्त भएमा रामेछापको वैकल्पिक यातायात सञ्जाल नै अवरुद्ध हुने खतरा रहेको स्थानीय बलवहादुर तामाङले बताउनुभयो। मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले चालु आवमा पुल संरक्षणका लागि बजेट विनियोजन नभएको बताउँदै विपद् व्यवस्थापन कोषमार्फत तत्काल मर्मत सम्भव हुने बताउनुभयो।

