पर्यटक तान्दै चौरीखर्क, पदमार्ग निर्माणपछि चहलपहल बढ्दै

गोठालाले मात्र चिन्ने चौरीलेक अब प्रकृतिप्रेमी पर्यटकको रोजाइमा

बागलुङ, ७ साउन – एकातिर रंगीचंगी बुकी फूलले सजिएको हरियाली डाँडा, अर्कातिर छिनछिनमा रूप फेर्ने बादल, अनि हिमशृङ्खलाको पार्श्वभूमिमा शान्त सिरसिरे हावा—यी सबै अनुभव गर्न चाहने पर्यटकका लागि बागलुङ–पूर्वी रुकुम सिमानामा रहेको चौरीखर्क (स्थानीय भाषामा चुङ्री) नयाँ गन्तव्यका रूपमा उभिएको छ।

समुन्द्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा अवस्थित चौरीखर्क अहिलेसम्म धेरैका लागि अपरिचित थियो। तर, पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत यसको सौन्दर्य उजागर भएपछि पर्यटकको आवागमन तीव्र भएको छ।

स्थानीय गोठालाहरुका अनुसार यस वर्ष जेठदेखि नै सयौँ पर्यटक चौरीखर्क पुगिसकेका छन्। बागलुङको निसीखोला गाउँपालिका–६ का गोठाला भागविर घर्ती मगरका अनुसार, “पहिले सुनसान हुने चौरीखर्क अहिले डाँडैभरी मानिसले भरिने गरेको छ। केही त टेण्ट टाँगेरै दुई दिन बस्छन्, दैनिक करिब सयजना पर्यटक आउँछन्।”

गोठालाको गोठ, पर्यटकको गन्तव्य

वर्षौंदेखि बागलुङ, पूर्वी रुकुम, रोल्पा र म्याग्दीका गोठाला वर्खा याममा चौरीखर्कमा भेडा–बाख्रा चराउन आउँथे। तर अहिले त्यही गोठ ठाउँ पर्यटकका लागि फोटोग्राफी, पदयात्रा र प्राकृतिक विश्रामको केन्द्र बन्दैछ।

पूर्वीरुकुमको भूमे गाउँपालिका–१ का गोठाला नमसिंह गुरुङ भन्छन्, “चारैतिर हरियाली, फुलफूल, गोठ र बथान भेटिने भएकाले मान्छेहरु बढ्न थालेका छन्। केही वर्षमै यहाँ गजबको गन्तव्य बन्ने सम्भावना छ।”

पदमार्ग निर्माणपछि सहज यात्रा

चौरीखर्क पुग्न पातीहाल्नेदेखि करिब आधा घण्टा गाडीको यात्रा र साढे दुई घण्टा पैदल हिँड्नुपर्छ। अघिल्लो वर्ष पर्यटन डिभिजन कार्यालय बाँकेले रु १० लाखमा रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने करिब ५ किलोमिटर लामो पदमार्ग निर्माण गरेको थियो।

कार्यालय प्रमुख टङ्कनाथ खनालका अनुसार, “यसवर्ष लुम्बिनी प्रदेश सरकारमार्फत रु २५ लाख थप बजेट विनियोजन गरिएको छ। चौरीखर्कलाई उत्कृष्ट गन्तव्य बनाउने योजना अन्तर्गत पूर्वाधार थपिनेछ।”

सरकारको ध्यान र पर्यटकको सन्तुष्टि

पर्यटन विकासका लागि स्थानीय र प्रादेशिक सरकारको ध्यान जान थालेको छ। खनालका अनुसार, “गत वर्ष कोइपामा जलाकी निर्माण गरिएको छ, पदमार्ग विस्तार र प्रचारप्रसारका काम पनि भइरहेको छ।”  दाङका पर्यटक पारस न्यौपाने चौरीखर्क घुम्न आएपछि दङ्ग छन्। “दाङको गर्मीबाट भागेर यहाँको चिसो हावामा निकै आनन्द आयो। बाटामा विश्रामस्थल र सूचनापाटी राख्न सके पर्यटकलाई अझ सहज हुन्छ,” न्यौपानेले सुझाव दिए।

चौरीखर्क अब केवल गोठालाको गन्तव्य मात्र रहेन, यसले नेपालको आन्तरिक पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्न थालेको छ। प्राकृतिक सम्पदा र स्थानीय संस्कृतिको संगम यसलाई पर्यटकमैत्री गन्तव्य बनाउन अग्रसर छ।

Facebook Comments Box