प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौँ, ७ साउन – सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रत्यक्ष प्रश्नको उत्तर दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट उत्पत्ति भएको “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार सङ्गठन (WTO) अन्तर्गत मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैबीच, आजै संसद् अन्तर्गतका तीन संसदीय समिति— सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दैछ। सार्वजनिक लेखा समितिमा जगदुल्ला जलविद्युत् आयोजनासम्बन्धी उजुरीमाथि छलफल हुनेछ भने नेपाल सरकारका सचिवहरूसँग संयुक्त बैठकको मिति निर्धारणसमेत गरिनेछ।
विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची छ। त्यस्तै, सङ्घीयता सबलीकरण समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, समस्या र समाधान प्रयासबारे छलफल हुनेछ।

