ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्र निर्माण
ताप्लेजुङ, ६ साउन – सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा, ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ। बाढी, पहिरो, आगलागी लगायतका विपद्का घटनामा आवश्यक सामग्रीको व्यवस्थापन र त्वरित उद्धार कार्यका लागि केन्द्र निर्माण गरिएको हो।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले भण्डारण केन्द्रको उद्घाटन गर्नुभयो। कुल लागत रु ८ लाख ६० हजार ७८८ रहेको यस भवन निर्माणमा फुङ्लिङ नगरपालिकाबाट रु ६ लाख उपलब्ध गराइएको थियो भने बाँकी रकम सशस्त्र प्रहरी गुल्मको आन्तरिक स्रोत तथा श्रमदानबाट व्यवस्थापन गरिएको प्रहरी नायब उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो।
उहाँका अनुसार उद्धार सामग्री व्यवस्थापनमा विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायले समेत सहयोग पुर्याएका छन्। मिक्वाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति, तथा डिभिजन वन कार्यालय ताप्लेजुङले विभिन्न उद्धार सामग्री उपलब्ध गराएको र ती सामग्री पनि उक्त केन्द्रमा भण्डारण गरिएको जानकारी उहाँले दिनुभयो।

