इलाममा धारिलो हतियार प्रहारबाट एक युवाको मृत्यु, एक घाइते
इलाम, १ साउन – इलामको सूर्योदय नगरपालिका–१ मा गएराति भएको झगडामा धारिलो हतियारको प्रहारबाट एक युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माइजोगमाई गाउँपालिका–२, जोगमाईका २१ वर्षीय प्रकाश चापागाईंको मृत्यु भएको हो। उनी आफ्ना दाजु ३२ वर्षीय निरोज चापागाईंसँगै ससुराली गएका बेला सो घटना भएको हो।
सूर्योदय–१, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग भएको भनिएको झगडाका क्रममा धारिलो हतियारको प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको हो। घटनामा घाइते भएका दाजु निरोज चापागाईंको पेटमा पनि गहिरो चोट लागेको छ।उनलाई गम्भीर अवस्थामा उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ। घटना लगत्तै आरोपी किरण शेर्पालाई पक्राउ गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

