बडीगाडखोलाको कटानबाट बर्सेनि त्रसित बस्तीहरू, स्थायी समाधान अझै अलपत्र
गुल्मी, १ साउन – बर्सात सुरु भएसँगै गुल्मीका बडीगाड खोला किनारका स्थानीय बासिन्दाहरू पुनः त्रासको छायाँमा बाँचिरहेका छन्। बाढी र कटानको डरले यहाँका बासिन्दाहरू रातभर निन्द्रा त्यागेर आकाश हेर्ने बाध्यतामा छन्। सत्यवती गाउँपालिका–६, उल्लीखोलाकी पवित्रा भुसालको घर र खेत २०७३ सालमा बडीगाडखोलाले बगाएको थियो।
घर गुमाएपछि उनी सात वर्षसम्म छिमेकको छाप्रोमा बसिन्। सरकारी राहतको आसमा नयाँ घर बनाए पनि अहिलेसम्म सहयोग पाएकी छैनन्। “ठुलो खोला भएकाले कहिले बाढी आउँछ थाहा हुँदैन,” भुसालले भनिन्, “रातमा ढुक्कले सुत्न सकिँदैन।”
उनकै गाउँकी मनु विकको तीनतले घर र खेत पनि सोही वर्ष खोला ले बगायो। “लुगाबाहेक केही बच्छ भन्ने कल्पना पनि गरेकी थिइनँ,” उनले दुखेसो पोखिन्। राहतका लागि पटक–पटक प्रयास गरे पनि सरकारी निकायले वास्ता नगरेको गुनासो गर्छिन्।
चोरकाटे, शाहाघाट र भुवाचिदी क्षेत्रका ३५ भन्दा बढी घरपरिवार अहिले पनि खोला कटानको प्रत्यक्ष जोखिममा छन्। बडीगाडखोलामा डहरे खोलाको लेदो मिसिने भएकाले धार परिवर्तन अनिश्चित हुने र बस्तीहरूमाथि प्रत्यक्ष असर पर्ने स्थानीयहरू बताउँछन्।
मुसीकोट–७ झेँदीका नरबहादुर कार्कीको घर पनि बाढीले बगाइसकेको छ। बाढीको कटान तीव्र बन्दै जाँदा भुवाचिदी बजारको करिब ७५ घरधुरी उच्च जोखिममा परेको स्थानीय व्यवसायी ज्ञानु सापकोटाले बताए। उनका अनुसार खोला बजारभन्दा १०–१५ मिटरको दूरीमै बगिरहेको छ। चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी भन्छन्, “बडीगाडले बर्सेनि कैयौँ उर्वर खेत कटान गरिरहेको छ, तर अझै दीर्घकालीन योजना बन्न सकेको छैन।”
उनले मुसीकोटदेखि रुरुक्षेत्रसम्मका दर्जनभन्दा बढी बस्ती र खेतका फाँट बाढीको उच्च जोखिममा रहेको जनाए। स्थानीय युवाहरूले पनि नदी नियन्त्रणको प्रयाप्त काम नभएको गुनासो गरिरहेका छन्। सत्यवती–६ का प्रेम कार्की भन्छन्, “साना योजना बनाइए पनि बाढी नियन्त्रणमा प्रभावकारी परिणाम देखिएको छैन।”

