झापामा एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ

झापा, १ साउन — आर्थिक वर्ष २०८१/८२ मा झापा जिल्लामा विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूद्वारा सञ्चालन गरिएको अपरेशनबाट ती प्रतिवादी पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार, पक्राउ परेकाहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराइयो। अदालतको आदेशअनुसार कैद बाँकी रहेकाहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेकाबाट जरिवाना असुल गरी छाडिएको जानकारी उनले दिए।

डीएसपी खड्काका अनुसार, पक्राउ परेकाहरूबाट कुल २४८ वर्ष १० महिना १४ दिनको कैद र रु ७ करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ।

केही चर्चित फरार प्रतिवादी

  • खेमराज पोखरेल (४८ वर्ष, भद्रपुर–८):

    • सर्वोच्च अदालतले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दामा दोषी ठहर गरी १० वर्ष कैद सजाय सुनाएको।

  • प्रदीप राई (३२ वर्ष, मेचिनगर–७):

    • उच्च अदालत विराटनगर (इलाम इजलास) ले जबर्जस्ती करणी र चोरी मुद्दामा २०७२ मा १० वर्ष कैद हुने फैसला गरेको।

  • अमिरलगुन विश्वकर्मा (३० वर्ष, बिर्तामोड–८):

    • उच्च अदालत पाटनले राजस्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद र रु २ करोड ८४ लाख ५८ हजार ६०५ जरिवानाको फैसला गरेको।

प्रहरीका अनुसार, अदालतको फैसला कार्यान्वयनलाई अझ सशक्त र प्रभावकारी बनाउने योजना अघि सारिएको छ। यस अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले जनाएको छ।

Facebook Comments Box