६ बुँदे सहमति सँगै सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित
काठमाडौं, २७ असार – सरकारले सुनको कारोबारमा लागु गरेको कर र भ्याटसम्बन्धी समस्यामा एक महिनादेखि जारी आन्दोलन व्यवसायीहरूले स्थगित गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तापछि सुनचाँदी व्यवसायीहरूले सरकारसँग ६ बुँदे सहमति गरी आन्दोलन स्थगित गर्ने निर्णय गरेका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार, शुक्रबारदेखि व्यवसायीहरूले नियमित रूपमा पसल खोल्नेछन्। आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुन कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याट लगाइएको थियो, जसले व्यवसायी र उपभोक्तामा समस्या ल्याएको थियो। यसका विरुद्ध व्यवसायीहरूले आन्दोलन सुरु गरेका थिए र पसल बन्द गर्दा सुनचाँदीको भाउ समेत तोकिने अवस्था थिएन।
वार्तामा, व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गर्ने र सुन तथा सुनका गहनामा लाग्ने कर र भ्याटबारे आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ। कार्यदलले प्रतिवेदन पेश नभएसम्म बजेटमार्फत वृद्धि भएका कर र भ्याट लागू नहुने कुरा पनि सहमतिमा उल्लेख छ।
यस्तै, सुनचाँदी बिक्रीवितरणमा देखिएका समस्याहरू समाधान गर्ने, स्थानीय सुनचाँदी तथा रत्न आभूषण सहज पहुँचमा आउने, सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी बनाउने र आवश्यक संशोधन गर्ने विषयमा पनि सहमति भएको महासंघले जनाएको छ।
कार्यदलको सचिवालय अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा रहनेछ। सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। वार्तामा पूर्वमन्त्रीहरू छबिलाल विश्वकर्मा र मीनबहादुर विश्वकर्मा पनि सहभागी थिए।

