१३२ केभी बुर्तिबाङ सबस्टेशन अझै सञ्चालनमा आएन

बागलुङ, २७ असार – एक वर्षअघि सञ्चालनमा आउने भनिएको बागलुङको १३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माण कार्य अझै अपूरो रहेको छ। बडिगाड गाउँपालिका–५ का स्थानीयवासीले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि काम अघि बढ्न सकेको छैन।

छ वर्षअघि सुरु गरिएको सो सबस्टेशनको ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ। तर, स्थानीयले टावर निर्माणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि एक वर्षसम्म काम रोकिएको थियो। यद्यपि, सर्वोच्चले गत असार ९ गते उक्त रिट खारेज गरिदिएपछि टावर निर्माण कार्य सम्पन्न भएको आयोजनाका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो। तर, हाल तार तान्ने कार्यमा पुनः अवरोध भइरहेको उहाँको भनाइ छ।

उक्त आयोजनाको सुरुआत कपिलवस्तुको मोतिपुरबाट गरिएको थियो। केन्द्रीय प्रसारण लाइन सन्धिखर्क, तम्घास, पौँदी अमराई हुँदै बुर्तिबाङसम्म जोड्ने लक्ष्यसहित २०७८ सालदेखि ढोरपाटन नगरपालिका–२, खल्टुबोटमा सबस्टेशन निर्माण थालिएको थियो। सबस्टेशनको संरचना तयार भइसके पनि प्रसारण लाइन नतानिएकाले विद्युत् आपूर्ति सुरु हुन सकेको छैन।

“स्थानीयको अवरोध नहुँदो हो त गत वर्ष असारमै विद्युत् प्रवाह हुन थालिसक्थ्यो,” प्रमुख चौधरीले बताउनुभयो। यसअघि मोतिपुरदेखि सन्धिखर्कसम्मको लाइन २०७८ साल चैत १२ गते परीक्षणपछि सञ्चालनमा आएको थियो भने गुल्मीको तम्घास सबस्टेशन २०७९ साल असार ७ गतेदेखि सञ्चालनमा आएको हो। अब पौँदी अमराईदेखि बुर्तिबाङसम्मको १८ किलोमिटर प्रसारण लाइन तान्न बाँकी रहेको उहाँको भनाइ छ।

सबस्टेशन निर्माणका लागि छ वर्षअघि मुडभरी/जोशी/गौरा जेभीसँग ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। प्रसारण लाइन विस्तारका लागि करीब ८३ करोड रुपैयाँको लागतमा सिक्माकोन/एमएसपील जेभीलाई जिम्मा दिइएको हो। कपिलवस्तुदेखि बुर्तिबाङसम्मको कुल दूरी ८६ किलोमिटर रहेको छ, जहाँ डबल सर्किट लाइन विस्तार गरिँदैछ।

“सबै संरचना तयार भइसकेको छ, अब अवरोध नहटेसम्म अन्तिम चरणको काम थाल्न सकिँदैन,” चौधरीले भन्नुभयो। उनका अनुसार आयोजनाको म्याद गत माघ २८ मा सकिए पनि थप ६ महिना विस्तार गरिएको थियो। तर, स्थानीयको अवरोध कायमै रहँदा निर्माण कम्पनीले काम अघि बढाउन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रभावित स्थानीयवासीलाई मुआब्जा वितरणका लागि कार्यदल गठन गरिएको छ। “मुआब्जा वितरणपछि समस्या समाधान भएर काम अघि बढ्ने अपेक्षा गरिएको छ,” गुरुङले बताउनुभयो।

Facebook Comments Box