सक्रिय मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना
काठमाडौँ, २८ साउन – देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन पनि अनुरोध गरिएको छ ।

