त्रिविको साधारणसभाले आगामी वर्षको बजेट तथा कार्यक्रम अनुमोदन, ग्रेस लिष्ट पारित, ८९ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौँ, २६ असार – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक साधारणसभाले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ जना विद्यार्थीको नाम समावेश गरिएको ६३औँ ग्रेस लिष्ट पारित गरेको छ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रस्तुत गरेको ग्रेस लिष्ट अनुमोदन गरेको हो।
बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि त्रिविको बजेट र कार्यक्रम पनि प्रस्तुत गरिएको छ। यस अवसरमा कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दी अनुरूप प्रतिस्पर्धी र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न आवश्यक रणनीति निर्माणमा जोड दिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न शिक्षा क्षेत्रको योगदान निर्णायक हुने भन्दै विश्वविद्यालयले त्यसअनुसारको कार्यदिशा लिनुपर्नेमा जोड दिए।
नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले त्रिविमा हालको विद्यार्थी संख्याको कम्तीमा एक प्रतिशत — करिब चार हजार — विदेशी विद्यार्थी भर्ना हुने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

