राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी–सुनकोशी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक, २४ असार – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले मंगलबार सूचना जारी गर्दै चीनको तिब्बतस्थित न्यालम क्षेत्रमा वर्षा जारी रहेको र राति थप वर्षा हुने सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट प्राप्त भएको जनाएको छ।

यसले नेपालतर्फ बाढीको जोखिम बढ्न सक्ने भएकाले भोटेकोशी र सुनकोशी आसपासका नागरिकलाई सतर्क रहन तथा अरनिको राजमार्ग (बन्देउदेखि लिपिङसम्म) सवारी चलाउँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यसैबीच, मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार क्षेत्र लगायतका संरचनामा क्षति पु‍र्‍याएको छ। रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार सो बन्दरगाहमा कार्यरत १४ कामदार बेपत्ता भएका छन्, जसमा ८ नेपाली र ६ चिनियाँ नागरिक छन्। बाढीले बन्दरगाहको करिब ६० प्रतिशत भौतिक संरचना क्षतिग्रस्त बनाएको छ।

Facebook Comments Box