आज संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै


काठमाडौँ, २४ असार – संघीय संसद्‌का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न तय गरिएको छ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे सुरु हुनेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले “राष्ट्रियसभाबाट उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नुहुनेछ।बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति; युवा तथा खेलकुद; तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ।

यता, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम तय गरिएको छ। साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले “त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयन अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “जलस्रोत विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकको सम्भावित कार्यसूचीमा रहेको छ।

Facebook Comments Box