मोरङ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता’ घोषणा
मोरङ, २४ असार – मोरङ जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता’ जिल्ला घोषित गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका १५९ वटै वडामा जन्मेदेखि १५ महिनासम्मका १६ हजार ५५१ शिशु र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ बालबालिकालाई आवश्यक सबै नियमित खोप लगाइएको कार्यालयले जानकारी दिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले पूर्ण खोप सुनिश्चितताका लागि निरन्तरता र सहकार्य आवश्यक रहेको भन्दै आगामी दिनमा समेत अभियानलाई अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए। स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा समितिका सदस्य सचिव सागर प्रसाईं, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत वक्ताहरूले खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा भएकाले घोषणा सम्भव भएको जनाउँदै यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।

