म्याग्दीमा दुई करोड ३१ लाख लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण
म्याग्दी, १९ असार – म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माणमा कुल लागत रु २ करोड ३१ लाख ३६ हजार ७५० परेको छ।पुल पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो। निर्माण कार्य निर्धारित म्यादभन्दा अगावै सम्पन्न गरी हालै सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको छ।
पुल सञ्चालनमा आएपछि धौलागिरि चक्रीय पदमार्ग हुँदै आउने पर्यटकलाई आवागमनमा सहज भएको छ। साथै, दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा लगायतका बस्तीका बासिन्दाले लामो घुमाउरो बाटो हुँदै मुना पुग्नुपर्ने बाध्यता हटेको छ। पुल निर्माण विसं २०८२ को मङ्सिर मसान्तभित्र सक्नेगरी सम्झौता गरिएको थियो। निर्माण कम्पनीले समयमै काम सम्पन्न गरी सञ्चालनमा ल्याएसँगै स्थानीयवासीले दैनिक आवतजावतमा सहजता पाएका छन्।

