नेपालमा २० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सुरु हुँदै, हरेक वर्ष ३ करोड बिरुवा रोपिने
काठमाडौँ, असार १४ – नेपाल सरकारले देशभर वृक्षरोपणलाई प्रोत्साहन गर्न २० वर्षे वृक्षरोपण महाअभियान सुरु गर्ने भएको छ। ‘सगरमाथा वृक्षरोपण महाअभियान’ नाम दिइएको यो कार्यक्रम सन् २०२५ देखि २०४५ सम्म सञ्चालन हुनेछ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीका अनुसार अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर शनिबारदेखि अभियानको सुरुवात गरिनेछ। उहाँले अभियान हरेक नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने जनाउँदै भन्नुभयो, “यो मन्त्रालयले सञ्चालन गर्ने केवल एउटा परियोजना हैन, रोपिएका प्रत्येक बिरुवामा नागरिकको स्वामित्व र संरक्षणको भावना समावेश गरिनेछ।”
मन्त्री शाहीका अनुसार प्रत्येक वर्ष ३ करोड बिरुवा रोप्ने लक्ष्यसहित २० वर्षमा कूल ६० करोड बिरुवा रोपिनेछ। अभियानले जैविक विविधता संरक्षण, हिमाल संरक्षण, र कार्बन उत्सर्जन न्यूनीकरण जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पुरा गर्न सघाउने विश्वास व्यक्त गरिएको छ।
शून्य कार्बन उत्सर्जनको लक्ष्य
नेपाल सरकारले सन् २०२५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ। यही लक्ष्यलाई साकार तुल्याउने महत्त्वपूर्ण माध्यमको रूपमा वृक्षरोपण महाअभियानलाई लिइएको छ। यो अभियान जेठ महिनामा सम्पन्न ‘सगरमाथा संवाद’ को २५ बुँदे कार्यगत घोषणाको कार्यान्वयन पक्षसमेत हो।
मन्त्री शाहीले अभियानले वन क्षेत्र विस्तारसँगै हिमाल संरक्षणको अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। हाल नेपालको कुल भूभागमध्ये ४५ प्रतिशतभन्दा बढी क्षेत्र वनले ढाकिएको जानकारी पनि उहाँले दिनुभयो।
उपभोगमैत्री संरक्षणमा जोड
वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलका अनुसार अभियानले नागरिकमैत्री संरक्षण र आर्थिक उपभोगयोग्य वन विकासमा जोड दिएको छ। रैथाने प्रजातिका बिरुवा, औषधिजन्य जडीबुटी र फलफूल वनलाई प्राथमिकता दिइने छ, जसबाट भविष्यमा आमनागरिकले प्रत्यक्ष आम्दानी गर्न सक्नेछन्।
अभियानको कार्यान्वयन योजना
सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र ७५३ वटै स्थानीय तहमा एकै साथ वृक्षरोपण हुने मन्त्रालयले जनाएको छ। कार्यान्वयनको लागि जिल्ला वन कार्यालयका नर्सरीहरूबाट निःशुल्क बिरुवा वितरण गरिनेछ। अभियानको औपचारिक उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा हुने तय भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहीले अभियानको औपचारिक सुरुवात गर्ने जानकारी दिनुभएको हो।
सार्वजनिक, निजी, सामुदायिक, सरकारी खाली जग्गा, भिरालो क्षेत्र र नदी किनारलगायत स्थानहरूमा वृक्षरोपण गर्ने योजना रहेको छ। रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न स्थानीय उपभोक्तालाई जिम्मेवार बनाउँदै रणनीतिपूर्वक कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।

