प्रधानमन्त्री ओलीको आज संसदमा सम्बोधन, साँझ स्पेन प्रस्थान गर्ने
काठमाडौँ, १४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आफ्नो आगामी स्पेन भ्रमणसम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै समसामयिक विषयहरूमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे स्पेन प्रस्थान गर्ने तय भएको छ। उहाँले संयुक्त राष्ट्रसङ्घद्वारा आयोजना गरिने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेभिल्ला, स्पेन जान लागेका हुन्।
यस सम्मेलनमा प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले औपचारिक निमन्त्रणा दिएका हुन्। सम्मेलनमा नेपालको पक्षबाट विकासका लागि वित्तीय स्रोत परिचालन, जलवायु परिवर्तन, सहयोग र साझेदारीका मुद्दाहरूमा उच्चस्तरीय अभिव्यक्ति प्रस्तुत हुने अपेक्षा गरिएको छ।

