प्रतिनिधिसभाको बैठक बस्दै, बजेट र नागरिकता विधेयक पारित गर्ने कार्यसूची
काठमाडौँ, १४ असार – संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। आजको बैठकमा बजेटसम्बन्धी विधेयकहरू पारित गर्ने कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार, बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएका आर्थिक विधेयक, २०८२ राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पनि आजकै बैठकमा पारित हुने सम्भावना छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी दिने कार्यक्रम समेत तय गरिएको छ। प्रधानमन्त्री ओली आजै स्पेन प्रस्थान गर्दै हुनुहुन्छ, जहाँ उहाँले संयुक्त राष्ट्रसंघको “विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन” मा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ।

