देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ, १४ असार – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

सावधानीका लागि यी प्रदेशमा बसोबास गर्ने नागरिक, विशेषगरी पहाडी तथा नदी किनारका बासिन्दालाई मौसम अनुसार सतर्क रहन विभागले आग्रह गरेको छ।

Facebook Comments Box